धरान : उच्च अदालत विराटनगर अदालतले आज मङ्गलवार कात्तिक ६ गते भएको सुनवाइपछि यसअघि कात्तिक ४ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ ।
उच्च अदालतले अन्तरिम आदेश दिएसँगै उपप्रमुख अईन्द्रबिक्रम बेघाले नगर प्रमुखले गर्ने कानुन बमोजिमका कार्य सबै गर्ने बताएका छन् ।
धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पत्र उच्च अदालत विराटनगरले कात्तिक ४ खारेज गरेको हो ।
पत्र खारेज भएसँगै कार्यवाहकको जिम्मेवारी सम्हालेका वडा अध्यक्ष लोकेन्द्र फागोले हिजो सोमबार कार्यवाहकको जिम्मेवारीबाट आफू अलगै भएको बताए।
अदालतले अल्पकालीन अन्तरिम आदेशलाई दिएको निरन्तरता र पत्रको आधारमा कार्यवाहक बनेका वडाध्यक्ष जिम्मेवारीबाट अलगै भएपछि स्थानीय सरकार सञ्चालन ऐन बमोजिम धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यभार उपप्रमुख इन्द्रविक्रम बेघा आएका हुन् ।
कार्यभार पाएसँगै उपप्रमुख बेघाले उपमहानगरपालिकाबाट हुने सबै काम गर्ने बताएका छन्। उनले भने ‘जनताको काम कुनै पनि रोकिँदैन ।
उपप्रमुख बेघाले वडा अध्यक्ष फागोलाई अभिभावकको रूपमा मान्दै आएको बताउँदै ‘ऐन, कानुनका कुराले उहाँ म बिचको सम्बन्धमा कुनै तिक्तता आएको छैन ।’ वडा अध्यक्ष फागोले प्रमुख साम्पाङको पत्रलाई ग्रहण गरेको उनले बताए ।
उक्त पत्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपप्रमुखको कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४ को (ख) को २ मा भएको विद्यमान व्यवस्थामा गैर कानुनी भएकोले उच्च अदालतको आदेशलाई हामी सबैले पूर्णरुपमा पालना गरेका छौँ ।’
पुनरावेदन अदालतले प्रमुख साम्पाङको कार्यवाहकको पत्र गैरकानुनी भएको ठहर गर्दै खारेज गरेको हो । वडाध्यक्ष फागोले अदालतको अपहेलन नगर्ने भन्दै हिजो कार्यालयबाट बाहिरिएका थिए ।
आइतबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिए ।
आज मङगलबार उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरेश कुमार चौधरीको संयुक्त इजलासबाट सोही आदेश कार्यान्वयन गर्न पुनः आदेश जारी भएको छ।




















