विराटनगर।कोशी ग्यासका सिलिन्डरमा चार केजीसम्म तौल कम भएको पाइएको छ । कोशी ग्यास उद्योगले उपभोक्ताका लागि बजारमा पठाएको चारवटा सिलिन्डरमा चार केजीसम्म कम तौल भेटिएको छ।
मोरङको बुढीगंगा गाउँपालिका नेमुवामा रहेको उद्योगबाट फिलिङ गरी कोशीले सिलिन्डर विक्रेतामार्फत उपभोक्तासम्म पुर्याउँने गरेको छ। तर, बिक्रीका लागि विराटनगर– ३ बुद्धचोकमा लगिएका चारवटा सिलिन्डरमा ४ केजी कम ग्यास पाइएको हो
विराटनगर– ३ का किशोर चापागाईंले घुम्ने व्यापारीबाट खरिद गरेको चारवटा सिलिन्डरमा ग्यासको तौल कम भएको शंका लागेपछि जिल्ला प्रहरी मोरङमा उजुरी दिएका थिए । ‘आफैँले वजन जोख्दा कम भएको शंका लाग्यो,’ चापागाईंले भने, ‘त्यसपछि प्रहरीमा उजुरी दिएँ । पछि जोख्दा चार केजीसम्म कम भएको पाइएको हो।
उजुरीपछि प्रहरीको आग्रहमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलीले पनि तौल जाँच गरेको थियो । उपभोक्तासम्म आइपुगेको उक्त सिलिन्डरमा भएको ग्यासको तौल १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.७६५ केजी मात्र थियो ।
यसैगरी, चारवटा सिलिन्डरको कुल तौल क्रमशः २६.४०, २५.०४५, २४.१०० र २९.०६५ रहेको थियो । नापतौल नियमअनुसार हरेक सिलिन्डरको टैर तौल १५.३ केजी र सिलिन्डरभित्रको ग्यास १४ केजी दुई सय ग्राम हुनुपर्छ ।




















