चार मुक्तकः

१)

खुसी नहुनु  है कसैको आँसुमा, भोली तिम्रो पालो हुन सक्छ 

जतिसुकै टालेपनि कतिपयको सोच विचार जालो हुन सक्छ 

हेर्ने दृष्टिकोण फरक हुँदोरहेछ यहाँ समयनुकूल रङ्ग फेर्नेको,

कसै कसैलाई त यहाँ पूर्णिमाको जून पनि कालो हुन सक्छ।

२)

महङ्गीको भिड बजारमा भुईंमान्छे नै सबैभन्दा सस्तो भेटिछ 

मानवियता हरायो हिजोआज छैन मूल्याङ्कन बाध्यता मेटिन्छ 

परिचय हराउँदा जिर्ण शरीर हुन्छ आर्यघाटको पर्खाईमा सधैं,

छैन रोजगारी अलपत्र जिन्दगी गहुँ सङ्ग घुनको मितेरी रेटिन्छ।

३)

मायाको गुमनाम बस्ती, ठेगाना भेट्न पाए हुन्थ्यो

पीडाको मूल खानी कहाँ होला रेट्न पाए हुन्थ्यो 

छातीमा गुम्सिएका पीडा परेलीले  बोल्छ भन्छन्,

परेलीको आँसुलाई हत्केलाले समेट्न पाए हुन्थ्यो।

४)

समयनुकूल हुँदा मौकामा अनविज्ञ पनि राजा हुँदोरहेछ 

यदि निःशुल्क पाए जतिसुकै बासी होस् ताजा हुँदोरहेछ 

कहिले सम्म जालझेल भित्र अनमेलको खेल दुनियाँमा,

बलियाहरूका लागि कमजोर सधैंभरी खाजा हुँदोरहेछ।

- शरद प्रधानाङ्ग, विराटनगर - ७