काठमाडौ ,गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा अवस्थित शुभकामना स्कूलको अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न भएको छ।
कार्यक्रममा युकेजी कक्षाका २९ जना बालबालिका दीक्षित भएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख अतिथि मेयर दिपक रिसालले छोटो समयमा नै शुभकामना स्कूलले एक स्थापित शैक्षिक संस्थाको रूपमा आफूलाई प्रस्तुत गर्न सफल भएकोमा प्रशंसा व्यक्त गरे। साथै, उनले विद्यालयलाई भौतिक पूर्वाधार र संरचनाका हिसाबले सम्पूर्ण नगरपालिकामै उत्कृष्ट मन्टेश्वरीमध्ये एक रहेको बताए।
विशिष्ट अतिथि उपमेयर सनानी लामाले शुभकामना स्कूलले हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै, विद्यालयका बालबालिकाले प्रस्तुत गरेको उत्कृष्ट कार्यक्रमले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उच्चस्तरको योगदान रहेको प्रमाणित गरेको उल्लेख गरे।
नगरपालिकाका शिक्षा प्रमुख बीर बहादुर खड्काले बाल शिक्षाका लागि विद्यालयलाई मात्र पढाइ केन्द्रित नभई सिकाइको थलो बनाउनुपर्नेमा जोड दिँदै, शिक्षण-शिकाइ क्रियाकलापमा शुभकामना स्कूलले आफ्नो क्षमता देखाएको बताए।
त्यस्तै, वडा नं. ४ का वडा अध्यक्ष जयराम महतले बालबालिकालाई निराश होइन, आशा जगाउने खालको शिक्षण-शिकाइको अभ्यास गर्नुपर्नेमा जोड दिए। साथै, उनले आफ्नो घर नजिक रहेको यस विद्यालयलाई नजिकबाट हेर्दै आएको र विद्यालयको मेहनत देख्दा आफू सन्तुष्ट रहेको जानकारी गराए।
कार्यक्रममा शिक्षाविद् ईश्वरप्रसाद सापकोटा, मोटिभेटर ईश्वर श्रेष्ठ, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा अभिभावकहरूको विशाल उपस्थिति रहेको थियो।
स-साना बाबु नानीहरूले विभिन्न सांस्कृतिक भेषभूषामा शास्त्रीय सङ्गीत, नृत्य, गायन, तेक्वान्दो लगायतका प्रस्तुति दिँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
शुभकामना स्कूलका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक सुमित्रा अधिकारी धिमालले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षिका गीता नगरकोटी र सुजिना बम्जनले गरेका थिए।
कार्यक्रममा मोटिभेटर श्री ईश्वर श्रेष्ठले आफ्नो प्रेरणादायी प्रस्तुति राखेका थिए।, जसले उपस्थित विद्यार्थी, अभिभावक, र अतिथिहरूलाई नयाँ उर्जा प्रदान गर्यो। साथै, संगीत, नृत्य, तेक्वान्दो, तथा शिक्षकहरूको विशेष नृत्य प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बने। विद्यार्थीहरूका विविध प्रस्तुतिहरूले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो।
विद्यालय व्यवस्थापन समितिले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी, शिक्षक तथा शिक्षकेत्तर कर्मचारीहरूलाई कार्यक्रम सफल पार्न दिएको अमूल्य सहयोग र साथका लागि विशेष धन्यवाद व्यक्त गरे।
विद्यालयका प्रतिनिधिहरूका अनुसार, शुभकामना स्कूल आगामी दिनमा पनि यस्ता शैक्षिक, सांस्कृतिक तथा प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धतासहित अगाडि बढ्नेछ।अध्यक्ष अधिकारीले बताएका छन्।




















