बोकी आयो  उज्यालो  घाम  मुस्कुरायो, 

पौरखीका   हातभरि  काम   मुस्कुरायो।


प्रेमभरि  शब्दको  चिठ्ठी  बोकी  हिँड्दा,

खुसी  बनी  गज्जबले   खाम   मुस्कुरायो।


फुलेपछि   जताततै   सुवास   छर्ने  फूल,

गौरव  गर्दै  यो  बसन्ती  याम  मुस्कुरायो।


भगवानको   बासले  पवित्र   भो  दुनियाँ,

भक्तहरूको  अर्चनाले  धाम  मुस्कुरायो।


जन्मिएको सार्थक  भो  धन्य  बाबाआमा,

हजुरहरूकै कारण  मेरो नाम मुस्कुरायो।


नवशिला।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।