आमाले कान्छो छोरालाई भनिन्, "तँ धेरै सोझो छस् छोरा ! दुनियाँलाई थाहा छ,  तेरो दाजुले सम्पत्तिको लागि बाबु मार्यो। त्यसपछि, खेत बारी सबै बेची सिद्यायो। घर बन्धक बनाई रूपैयाँ सिद्यायो। अहिले मेरा सबै गरगहना लुछिरहेछ । कुन दिन मलाई पनि मार्छ। तँ लाटो छस्, केही बुझ्दैनस् । तेरो हबिगत हुनेभयो ।"


कान्छालाई यतिका कुरा आमाले नै भनेपछि पूरा विश्वास भयो ।  थर्र्र्र काम्यो एक पल्ट । अनि हातमा बन्चरो लिएर निस्कियो।  


जेठो छोरोप्रतिको मात्रृवात्शल्य  आमाको आँखामा पहिले छचल्कियो । अनि, असुर  बनेर भुईँमा पोखियो । 


घरको अस्तित्व रक्षाको लागि आमाले कान्छालाई रोकिनन् ।


बेलुका आमाले कान्छो छोराको अनुहारमा  कान्छो छोरो देखिनन् । अब ऊ, जेठो छोराको दानवी रूपको नयाँ  सँस्करण भएर आएको थियो । 

पर्शुराम घिमिरे 

विराटनगर