एकदिन

दुईदिन गर्दागर्दै 

निक्कै दिन भैसकेछ

एकहुल तन्नेरी आश बोकेर

कालीगण्डकीको किनारमा

शरणार्थी शिबिर खडा गरेको पनि।


भोक

 र 

धितको कथा भन्दा कैंयुगुणा पर.....

म र मपाई क्रीडा भन्दा कैंयुगुणा माथी.....

हाम्रा बाहरूले सदाबहार हिडेको

बूढो बाटो हिड्ने रहरले...

आफू हिडि आएको नयाँ बाटोलाई

केही समय पर्खिन आग्रह गर्दै।


खुब 

प्रेमले बजारियो कोमल पैतला

सेता पहाडहरूको मुन्तिर 

काला पत्थरहरूको पेरिफेरिमा

बृन्दाको श्रापले पत्थर भएका 

भगवान बिष्णुको पाप मोचनका निम्ति

उहीँ पत्थरलाई शालग्राम घोषणा गरेर

सनातनी सभ्यताको पुरानो पालामा

रकेट युगको रिफाइन तेल थप्दै

सल्काइयो श्रद्धाको आरती 

हरेक बिहान

हरेक हरेक साँझमा।


एक 

बिश्वास थियो,अजम्मरी,अटुट.....,

म बसेको शिबिर र मेरो मनभरी

एकदिन सेतै भएर पुर्ववत फुल्नेछन काला पहाडहरू

पुनर्जागृत हुनेछ सनातनी सभ्यता

तर

मेरै आँखा अघाडी 

तुसारापात भए मेरा सपनाहरू

समकक्षीहरूले स्वाभिमान बेच्न थालेपछी

रित्तै फर्किदैछु आज

पश्चिमाहरूको पदचाप सुँघेर

आफ्नो राष्ट्रियता थिम्पुको जिम्मा लाएर

कोलम्बसको ढुङ्गा चढेका

आप्रवासीहरू जस्तो।

हो!


फर्किदैछु म 

च्यात्तिएको खल्तीमा चिसा हात घुसाएर

क्षणिक न्यानोको खोजीमा

परालको अगुल्टो सल्काउदै

जिबनको अँध्यारो छिचोल्न

फर्किदैछु म.........।

म फर्किदैछु........।।


एमपी पाण्डे

मुक्तीक्षेत्र,मुस्ताङ