यत्ति अन्तरालमा
पत्थरहरू गल्थे होलान्
मरुभूमिमा हरियो उम्रिन्थ्यो होला
तर, विम्बहरू कवितामा उनिँदैनन्
कवितांशहरू कविता बनाउँदैनन् ।
इन्धन सकिएको मइन्टोलजस्तो जिन्दगी बोकेर
औषधि र किरानामै अल्झिएका विम्बहरूले
पटकपटक दुःखित बनाउँदै
कवितालाई अपूर्ण बनाउन खोजिरहन्छन् ।
उमेरको वृद्ध नदीको राजमार्गमा
थोत्रिएको पानीजहाज चलाइरहेका
आमाबुबाका व्यथाहरूले कविता बनाउँछन् या बनाउँदैनन् ?
कवि सशङ्कित भइरहन्छ !
यसरी हरेक दिन उदाउने बिहानीले
असङ्ख्य विम्बहरू जन्माउँछन्
यिनै विम्बहरूको सडक टेकेर
गरिबी हटाउने अभियान बोकेका
महानायकका गाडीहरू हर्न बजाउँदै कुदिरहन्छन् ।
यहीबेला अभावका झण्डा बोकेर
खाना र नाना खोज्नेहरू
सडक पेटीभरि लामबद्ध हुन्छन् ।
सन्तानको मुख हेर्न नपाउँदै
डोकोको एम्बुलेन्समा छट्पटाएर
मरेकी आमाको कथा अखबारले छाप्छ ।
शीतको छानुमुनि
बतासको सिरक ओढ्नेहरू
एकाबिहानै तन्द्रामा बेपरवाह तन्किरहन्छन् ।
उफ !
सबै विम्बहरू कारुणिक छन् !
आफ्ना झैँ लाग्छन्,
खस्तै गरेका निन्याउरा फूलजस्तै महशुस हुन्छन् ।
जब कविलाई यी विम्बहरूले
कविता बनाउन उत्प्रेरित गर्ने छन् !
त्यसबेला थुप्रै मानिसहरू मुटुमा तूफान चलाउँदै
हिसाब खाेजिरहेका हुने छन् ।
उमेश लुइँटेल
झोराहाट




















