आमाले उहिल्यै दिनुभएको
हजुरबाजस्तै पुरानो काठे बाकसमा
धमिरा बोकेर थन्किएका
केही थान काल्पनिक कविताजस्तै
थन्किँदैछ जिन्दगी,
लामो ओरालो झरिसकेपछि
पुण्य सकिएका आकाशका तारा हराएजस्तै
हराउँदैछ जिन्दगी ।
यो निर्जन जङ्गलमा पनि
कति डरलाग्दो कोलाहल छ,
आँखा हुँदाहुँदै पनि
पाइताला रक्ताम्य भएपछि पो थाहा भयो-
कति धेरै टेकिएछन् घातक काँडाहरू र
बगरका तीखा ढुङ्गाहरू ।
लामो गन्तब्यको यात्रामा निस्किएको ज्यान
आज खै कसरी-कसरी यो ओडारमा विश्राम लिँदैछ,
महत्वाकांक्षाका अनेकौँ पहाडहरू
कसरी-कसरी भत्किँदा रहेछन् पहिरो बोकेर
सबै-सबै आफन्तजस्ता लाग्ने
मान्छेहरूको भीडभित्र
कहाँ-कहाँबाट छिर्दोरहेछ भुइँ कुहिरो र
धमिल्याइदिँदो रहेछ मानवीय सम्बन्धलाई ।
प्रश्न होइन
तर किन-किन प्रश्नजस्तै बनेर उभिन्छ
मान्छेको अनुहार !
प्रश्नैप्रश्न हो
तर किन-किन प्रश्नहीन
गहिरो मौनता बोकेर उभिन्छ
मान्छेकै अनुहार !
श्रापित सिसिफसजस्तै
अनन्त समयको पहाडमा
अर्थहीन उकाली-ओराली गरिरहेछ मान्छे,
अस्तित्वको अहम् बोकेर पनि
प्रयोग भइसकेको टुथपेष्टजस्तै
बेपर्वाह फालिन्छ मान्छे,
जिन्दगीको अनौ हलोबाट खुस्किए पनि
पत्रे चट्टानजस्तै
आशाका सपनाहरू साँचेर
हिलोमा नै जिन्दगी देख्दै
त्यही हिलोमा लडिबुडी गर्छ मान्छे,
हरिया पत्तालाई सिन्काले खिपेर बनाएको
दुना टपरीको सुन्दर शिल्पीजस्तै
रङ्गिन सपना बुन्दै रमाउँछ मान्छे ।
हरेक मान्छे मृत्युका लागि जन्मिँदो रहेछ,
चारोको खोजीमा
उदात्त उडान भरिरहेका चराहरू
कुनै घातक हमलासँगै
भट्भटाउँदै भुइँमा झरेजस्तै, अथवा
शेक्सपियरको ह्याम्लेटजस्तै
असमयमै जिन्दगीको खेल
समाप्त भएको व्यथा
कहिलेसम्म सुनाउँछन् गुरुहरू !
भर्खरै कालोपाटीमा लेखिएका
भर्भराउँदा जिवन्त अक्षरहरू
निर्दयी डस्टरले मेटेको कथा
आँखाभरि आँसु पार्दै
कहिलेसम्म सुनाउँछन् गुरुहरू !
कष्टपूर्ण उफान पैदा गर्ने
उच्च रक्तचापलाई स्वीकारेर
त्यसैलाई जीवनशैली बनाउने
बाध्यता छ यहाँ,
शरीरका रक्तनलीभरि
बिषाक्त ग्लुकोजको नदी बगाएर
फिसिक्क हाँस्नुपर्ने विवशता छ यहाँ,
प्रेमको नाममा शरीर बिक्रीको व्यापार
उन्मत्त भएर बौलाएको छ,
बालुवाका टुक्रा-टुक्रा कणझैँ
विभाजन र अविश्वास मौलाएको छ,
अलिकति बाँच्छु नि भन्दा पनि
बाँच्न दिँदैन समाज
सुकरातलाई पिलाउने
हेम्लक बोकेर निर्लज्ज उभिन्छ,
भयो अब मर्छु नि त भन्दा पनि
मर्न दिँदैन समाज
बधशालामा मृत्यु पर्खेर बसेका
पशुलाई जस्तै थुनिदिन्छ,
कुनै भद्धा नाटकको कुरुप दृश्यजस्तो
युगौँदेखि यसरी नै चलिरहेछ संसार ।
यो ओडार हो-
जिन्दगीलाई किस्ता किस्तामा निल्ने अँध्यारो ओडार हो यो,
कहिल्यै अन्त्य नहुने
अन्तिम रात्रीभोज हुँदैछ यहाँ,
जहाँ जिससलाई जस्तै हरेक मान्छेलाई
भोलि बिहान सूर्योदय नहुँदै
क्रसमा टाँगिदैछ,
र, मान्छे
एक्लै
एक्लै
फगत एक्लै
आफ्नो लाशको आफैँ मलामी जाँदैछ ।
भरत बर्बरिक
झोराहाट मोरङ




















