तराईको छाती चिरेर

कुल्चिएर हिलो नभएको खेत

रुँदै भन्छ एक वृद्ध किसान—

‘त्यो हेलिकप्टर मृत्यु बोकेर आइरहेछ कि

सर्कारका मान्चेहरूका हेलिकप्टर चढ्ने रहर बोकेर ? 


उर्बर भूमिमा धान छैन

पानी छैन

बाँच्ने भरको बियाँ पनि छैन

तर शासन छ—

जो हेलिकप्टरमा चढेर 

पावरवाला चस्माबाट 

देशको भविष्यझैं चिरा परेको 

खेत हेरिरहेछ आकाशबाट 


त्यही बेला

एक वृद्ध आमा आँसु झार्दै

सुकेको इनारको मुख हेर्छिन्

र भन्छिन्—

‘यो वर्ष धान हैन, भोक रोपियो’


माटोले ओठ चाट्छ

खेतको आलीमा बसेर 

कीरा खोज्ने चराहरु हराए

भ्यागुताले गीत गाउन छाड्यो

सिँचाइ विभाग चुपचाप छ

र गगनचुम्बी योजनाको नक्सा

बन्धकीमा राखेको जग्गाको धनीपूर्जाझैं 

मुख्यमन्त्रीको टेबलमा थन्किएको छ 


उता सिंहदरबार भन्छ—

‘खेत देख्यौं, समस्या बुझ्यौं अब प्रतिवेदन बनाउनेछौं’

त्यही बेला 

‘सुख्खा बेलामा धान उत्पादन कसरी गर्ने’ भनेर

एक जना सचिव

गुगल सर्च गर्दैछन् 


धानको बालाझैं झुल्ने

किसानको भरपर्दो श्रम

फाटेको धाँजोमा बिलाएको छ


हेलिकप्टर उड्छ फेरि—

ब्यूरोक्रेसी र बुलेटप्रुफ मनहरू लिएर

तर माटोले चिच्याउँछ

‘म उब्जन चाहन्छु

मलाई पानी देऊ

शासन हैन

शान देखाउने सवारी होइन 


यो देशमा आकाश नजिक छन् शासकहरू

माटो नजिक छन् 

श्रमिक र किसानका पीडाहरू

मीनकुमार नवोदित

विराटनगर