जो कमजोर छ

उसले आफूलाई 

बलवान छु भन्छ

ठूलो स्वरले कराउँछ

म सर्वेसर्वा 

राजा हुँ भन्छ।


जो अल्पज्ञानी छ

उसले आफूलाई 

महा ज्ञानी छु भन्छ

ठूलो स्वरले कराउँछ

पर पर भाग्छ

ज्ञान र ज्ञानदेखि 

डराउँछ।


कति मानिसले

स्वयं आफूलाई 

स्यालभन्दा 

चतुर ठान्छन् 

बाघको छाला ओडेर

स्वयं आफूलाई 

बाघ ठान्छन् 

कुखुराको

बिचमा पुगेर

माया गरे झैँ गरी

अँगालो हाली 

फकाई - फकाई

विस्तारै  विस्तारै

कसैले -

थाहा नपाउनेगरी

त्रिभुवन , महेन्द्र 

वीरेन्द्र , दीपेन्द्र 

मदना आश्रित 

सुशील , नेम्वाङ र

प्रकाशलाई झैँ 

स्यालले 

एउटा एउटा कुखुरा 

मारेर खाए झैँ  

मार्दै खान्छ ।


अहिले 

यो जंगलमा 

बाघको छाला ओडेर

स्यालले राज 

गरिरहेको छ

विस्तारै विस्तारै 

बाघको छाला 

खुइलिँदै जाँदै छ

उसको 

असली रूप

उदाङ्ग हुँदै छ।


एकदिन

कुकुराले

नक्कली बाघको

पत्तो पाउने छन् 

धुर्त स्याललाई

तह लगाउने छन् ।


स्यालको

पछिपछि हिंड्ने 

व्वाँसाहरू

गिद्दहरू

कागहरू

आफ्नो ज्यान जोगाउन

दुलोभित्र 

ओडारभित्र 

पस्ने छन् ।


हिंजोमात्र

धूर्त स्यालले

एउटा पोथीमाथि

आक्रमण गरेको छ

उसले आफ्नो 

रूपरङ्ग

देखाएको छ 

अहिले समय

पाक्दै छ

त्यसैले 

स्यालको स्वर 

सनौ सनै थाक्दै छ।

 • देवी पन्थी