जो कमजोर छ
उसले आफूलाई
बलवान छु भन्छ
ठूलो स्वरले कराउँछ
म सर्वेसर्वा
राजा हुँ भन्छ।
जो अल्पज्ञानी छ
उसले आफूलाई
महा ज्ञानी छु भन्छ
ठूलो स्वरले कराउँछ
पर पर भाग्छ
ज्ञान र ज्ञानदेखि
डराउँछ।
कति मानिसले
स्वयं आफूलाई
स्यालभन्दा
चतुर ठान्छन्
बाघको छाला ओडेर
स्वयं आफूलाई
बाघ ठान्छन्
कुखुराको
बिचमा पुगेर
माया गरे झैँ गरी
अँगालो हाली
फकाई - फकाई
विस्तारै विस्तारै
कसैले -
थाहा नपाउनेगरी
त्रिभुवन , महेन्द्र
वीरेन्द्र , दीपेन्द्र
मदना आश्रित
सुशील , नेम्वाङ र
प्रकाशलाई झैँ
स्यालले
एउटा एउटा कुखुरा
मारेर खाए झैँ
मार्दै खान्छ ।
अहिले
यो जंगलमा
बाघको छाला ओडेर
स्यालले राज
गरिरहेको छ
विस्तारै विस्तारै
बाघको छाला
खुइलिँदै जाँदै छ
उसको
असली रूप
उदाङ्ग हुँदै छ।
एकदिन
कुकुराले
नक्कली बाघको
पत्तो पाउने छन्
धुर्त स्याललाई
तह लगाउने छन् ।
स्यालको
पछिपछि हिंड्ने
व्वाँसाहरू
गिद्दहरू
कागहरू
आफ्नो ज्यान जोगाउन
दुलोभित्र
ओडारभित्र
पस्ने छन् ।
हिंजोमात्र
धूर्त स्यालले
एउटा पोथीमाथि
आक्रमण गरेको छ
उसले आफ्नो
रूपरङ्ग
देखाएको छ
अहिले समय
पाक्दै छ
त्यसैले
स्यालको स्वर
सनौ सनै थाक्दै छ।
• देवी पन्थी



















