जिन्दगी हेरियो कयौँ पटक तिम्रो नजरमा राखेर।

कति छटपटिनुपर्छ  हेर माछालाई बगरमा राखेर।


परीक्षण गरे होलान् कतिपयले त्यो प्रयोगशालामा

तर मैले हुर्काएकी हुँ तिमीलाई यो पाठेघरमा राखेर।


आज बहुत पछुतो लागिरहेछ आफ्नै गाउँसँग मलाई 

 सुध्रिएनन् श्रीमती  छोरा छोरी लाई सहरमा राखेर।


आखाँमा राखेर  मनमा राखेर सबै  तिम्रो सम्झनाहरु 

कसरी मेटिन्थ्यो भएजति  यादहरु खप्परमा राखेर।


स्वतन्त्र भएर बाँच्नुको अर्थ  तब थाहा पाउने छौ मित्र

एकपटक हेर पिँजडा को सुगालाई  सफरमा राखेर।।

पुष्प अधिकारी अञ्जलि

                    भरतपुर ,चितवन