तर्दै गर्दा जङ्घार भेटिएकी थिइन् उनी
दिएकी थिइन् हात सँगै तर्नलाई
पुगेका थियौँ पारी
अनजान अपरिचित दुई मन
हामी ओहोरदोहोर गरिरहने
यो जङ्हार बर्खाले नबढेको भए
हुन्न थियो भेट ।
हिउँदभरि उनी निर्धक्क ओहोरदोहोर गरिरहने
जङ्घार बर्खाले एकाएक बढेपछि
पुग्नलाई पारी चाहिएको थियो कसैको भरोसा
बसेर किनारमा
प्रतीक्षारत थिइन् सँगै पारी पुग्ने साथीको
अनायस आइपुगेँ म
र बन्न पाएँ साथी ।
पुगेपछि पारी पुलुक्क हेरेर अनुहारमा
मुस्कुराएकी थिइन् उनी
हो त्यही प्रथम भेट क्रमश
जोडिँदै गयो अन्य भेटसँग
र अनन्त अनन्त जीवन यात्रासँगै गर्ने
निरन्तर भेटहरूले जोडीदियो हामीलाई
बनाइदियो जोडी।
बर्खा लागेपछि हिजोआज पनि जान्छौं सँगै
र किनारमा बसेर घन्टौ हेरिरहन्छौं त्यही जङ्घारलाई
जसले उनी र मलाई जोडेर जोडी बनाइदिएको थियो।
नवराज पोखरेल नवशिला
✍️ नवशिला।



















