कहिले यताबाट उता
कहिले उताबाट यता सर्छ
कहिले सबैको आँखामा पर्छ
कलिले बिरक्तिएर आफैँलाई हर्छ
ऊ आग्लो हो !... तर उत्तिसको
कहिले पट्ट भाँचिन्छ, टेर्दैन ऊ
उखान छ -
वल्ला घरको नरे पल्ला घरमा सरे
लटरम्म फलेको वृक्ष देख्दा
जता देख्छ उता सर्छ
अनि जिन्दावाद लेख्छ ।
फल कम्ति झ-यो कि
मुर्दावाद भनिहाल्छ !
साउनमा आँखा फुटेको डिँगो
सधैँ हरियो देखिरहन्छ
पाउँदैन ! बञ्जर देख्छ
थाहा पाउँछ पहिरो गएको
उत्तिस हो उम्रिहाल्छ !
आशातीत आँखाले ऊ टुलुटुलु हेर्छ ।
बाटो छेक्न पनि डराउँदैन ऊ
कहिले हुर्र बल्छ अनि सेलाउँ छ।
फुका छोडिदियो भने
आफैँ मनमानी गरिरहन्छ
खोला नाला र पाटी पौवाहरूका घरदलान
मौका पाउँदा सर्लक्क बनिन्छ
तर दिगो हुँदैन
किन कि ऊ उत्तिस हो ! 'पर्मनेन्ट' हुँदैन
घरकै आग्लो भएर पनि
बाध्यता हो कि प्राकृतिक
लाग्छ उफ्रिने रहर हो कि कहर हो !
ऊ अडिँदैन कतै -
नैतिकताको पुजारी हुदैँ हुँदैन
सिद्धान्तले उसलाई पटक्कै छुँदैन
ऊ बसाईं सरिहन्छ
बञ्जारा हो ऊ ,
आफ्नो स्वार्थ सिद्धगर्न
वल्लाघरदेखि पल्लाघरसम्म
फट्के बनेर तरिरहन्छ
फट्के बनेर तरिरहन्छ।
*
गीताश्री शर्मा
- गान्तोक सिक्किम



















