कहिले यताबाट उता

कहिले उताबाट यता सर्छ

कहिले सबैको आँखामा पर्छ

कलिले बिरक्तिएर आफैँलाई हर्छ

ऊ आग्लो हो !... तर उत्तिसको

कहिले पट्ट भाँचिन्छ,  टेर्दैन ऊ 

         उखान छ -

         वल्ला घरको नरे पल्ला घरमा सरे 

         लटरम्म फलेको वृक्ष देख्दा

         जता देख्छ उता सर्छ 

         अनि जिन्दावाद लेख्छ ।

         फल कम्ति झ-यो कि

         मुर्दावाद  भनिहाल्छ !

साउनमा आँखा फुटेको डिँगो

सधैँ हरियो देखिरहन्छ 

पाउँदैन ! बञ्जर देख्छ

थाहा पाउँछ  पहिरो गएको 

उत्तिस हो उम्रिहाल्छ  !

आशातीत आँखाले ऊ टुलुटुलु हेर्छ ।


बाटो छेक्न पनि डराउँदैन  ऊ

कहिले हुर्र बल्छ अनि सेलाउँ छ। 

फुका छोडिदियो भने

आफैँ मनमानी गरिरहन्छ

खोला नाला र पाटी पौवाहरूका घरदलान 

मौका पाउँदा सर्लक्क बनिन्छ

तर दिगो हुँदैन 

किन कि ऊ उत्तिस हो ! 'पर्मनेन्ट' हुँदैन 

घरकै आग्लो भएर  पनि

बाध्यता हो कि प्राकृतिक 

लाग्छ उफ्रिने रहर हो कि कहर हो !

ऊ अडिँदैन कतै -

नैतिकताको पुजारी हुदैँ हुँदैन 

सिद्धान्तले उसलाई पटक्कै छुँदैन 

ऊ बसाईं सरिहन्छ

बञ्जारा हो ऊ ,

आफ्नो स्वार्थ सिद्धगर्न 

वल्लाघरदेखि पल्लाघरसम्म

फट्के बनेर तरिरहन्छ

फट्के बनेर तरिरहन्छ।

                            *

                  

  गीताश्री शर्मा 


         - गान्तोक सिक्किम