राम्रैसँग परिचित छु म
जिबन र जिजिविषाको अनवरत दौड
अनि मृत्युको अन्तिम सत्यसङ्ग
मलाई थाह छ
आफु पनि मिसिनेछु एक न एकदिन
मरिजानेहरूको भिँडमा।
राम्रैसँग परिचीत छु म
उमेरको दोहोरो रिले
पलाउदै गरेका मुनाहरूको कोमलता
फुल्दै गरेका फुलहरूको रंग
सुक्दै गरेका पातहरूको मुर्च्छ्ना
सम्पूर्ण जिन्दगीको जोडघटाउ बिच
आफ्नै आयुरेखाको आयु कोट्ट्याउदै गर्दा।
राम्रैसँग परिचीत छु म
हिउँसँग लुकामारी खेल्दाखेल्दै
प्यारालाइसिसले थलिएका हिमाल आरोहिका खुट्टा
र
उनको जहान बच्चाले भोग्नु परेको बिपतसँग
क्यान्सरले चबाएको भरियाको निधार
र
ढोका ढोकासम्म आइपुगेको मृत्युको भयले आक्रान्त
परिवारजनको कोहोरामसँग
रोग,भोक,शोकका मुर्तअमुर्त आकार प्रकारमाथी
शोधकर्ता झै स्वयम् सरिक भएर
अध्यन अनुसन्धान गर्दै गर्दा।
राम्रैसँग परिचीत छु म
भुइँ छुन नमिल्नेगरी थलिएका आफ्नै पैतला
मोतीबिन्दुले धमिलिदै आँखा
हरपिक भाइरलले पाक्दै,सुक्दै गरेको कन्पारो
पायल्स,फिष्टुलाले गाँजेर रगत छादिरहेका आन्द्रा
अनि,
मनोरोगले आक्रान्त मस्तिष्कसँग।
तै पनि
रुवाउदैनन् मलाई मेरा पिडाहरू
चहर्याउदैनन् मलाई मेरा घाउहरू
दुखाउदैनन् मलाई मेरा दु:खहरू
डराउदैनन् मलाई मेरा भयका भुतहरू।
तर
यसरी कुटुकुटु मुटु किन खान्छ आमा ?
तिमीलाई दुखेको अनुभुति मात्रले पनि
तिमी कहिले सञ्चो हुन्छौ आमा ?
कहिले सञ्चो हुन्छ तिमीलाई ?
कि लडिरहने हो यसरी नै
सदियौ देखि थिलथिलो भएर लडीरहेकी
धर्ती आमा जस्तै भनन् आमा कहिले
उठछौ यो रोगी ओछ्यानबाट
उठन आमा उठिहाल
चाँडै उठ है आमा।।
✍️एमपी पाण्डे



















