यदि माटो उस्तै हो, 

अनि पानी उस्तै रसिलो।

ठ्याक्कै त्यस्तै हो—

सबैका दाजुभाइको नाता , 

एउटै जराबाट उम्रिएको दुई जीवनको बोट,

जहाँ एउटाको छायाँ अर्कोलाई शीतल हुन्छ,

अनि एउटाको चोट अर्कोलाई पीडाको स्पन्दन।

भाइ भनेको सम्झनाको आँखा हो,

दाजु भनेको त्यो आँखाको नानी ,

जहाँ बालापन सिँगारिन्छ 

एउटै आमाको काखमा

एउटै पिताको स्नेहमा

अनि दलानको माटोको सुगन्धमा,

जहाँ सम्बन्धहरू भिज्थे

दूध–भातको मिठासमा।

गल्ती? ती त वर्षा हुन् — 

कहिलेकाहीं अत्याधिक झर्छ,

तर खेत बिगार्दैन,

गाह्रो बेला सम्हाल्ने गोठालो झैँ,

दाजुभाइ एक अर्काका बर्खे बादल बनून्,

झुक्याउने बेमानि गर्ने 

परेको बेलामा भाग्ने नगरुन

दाजुभाइ को माया त 

गड्याङगुडुङको रिस मात्र होइन 

बरु पवित्र बर्षा वर्षाएर हरियाली ल्याउने हुनुपर्छ।

बाहिरकाले घर भित्रै खेल्न खोज्छन सबैका

बुझ्न सक्नु पर्छ

बाहिरका कुरा त हावाका पातहरू हुन् —

उड्ने, फुसफुसाउने,

तर जरामा पुग्दैनन् 

ती नकारात्मक जुठा शब्द,

यदि जराहरूले आपसमा बोल्न जाने भने

श्रीमतीको मायामा चन्द्रमाको उज्यालो हुन्छ,

छोराबुहारीको आदरमा 

सूर्यको झल्झलाकार प्रकाश हुन्छ

तर दाजुभाइको सम्बन्ध

त्यो त बिहानी र सन्ध्याझैँ 

दिन र रात झै मिलेर 

आकाशमा रंगिन चित्र कोर्न सक्छन।

दाजु हो भने

ऊ बाउ पछिको बटबृक्ष हो 

परेको छायाँमा थुप्रै घामहरू सुक्दछन्।

भाइ हो भने

ऊ नयाँ कली हो —

पुराना फूलको सुवास बोकेर पनि 

नयाँ गन्ध ल्याउने गर्नुपर्छ।

छिमेकी, इस्टमित्र, पराइ आवाज —

यी त नदीको गर्जन हुन्

जो कहिलेकाहीं कानमा गुञ्जन्छन,

तर मनको तटमा नछुने 

बेलुन फुट्दाको आवाज झै मात्र।

साच्चै नै —

दाजुभाइको मन भाँडो हो

जहाँ रिस उम्लिन्छ, 

माया पक्छ, गल्ती खनिन्छ,

र अन्त्यमा एक अर्कालाई 

थाप्लोमा हात राखेर

मिठासको परिकार खुवाइन्छ।

सायद अरुले भत्किएको घर बनाउँलान

तर भत्किएको नाता? 

त्यो त आफ्नै हातले बनाउनु पर्छ।

गहिरो मनदेखि उठेको आत्मीयताले,

कहिल्यै नचर्कने र नफुट्ने समर्पणले 

टाल्न सकिन्छ मन चर्किएको भित्तो

“सन्तानको रगत एउटै नसामा बग्दछ,

झगडा आँधी हो — 

तर घर भनेको बोट हो 

जसले त्यो आँधी सहन्छ।

त्यसैले आउ, फेरि सम्हालौं 

हात, नजर, र नाता —

किनभने भाइचारा भनेको विरासत हो,

जसलाई रगतको  माया, 

माफी र मिलनले मात्र जोगाइरहन्छ।”

डा. गोपाल पौड्याल  'मण्डने'