यदि माटो उस्तै हो,
अनि पानी उस्तै रसिलो।
ठ्याक्कै त्यस्तै हो—
सबैका दाजुभाइको नाता ,
एउटै जराबाट उम्रिएको दुई जीवनको बोट,
जहाँ एउटाको छायाँ अर्कोलाई शीतल हुन्छ,
अनि एउटाको चोट अर्कोलाई पीडाको स्पन्दन।
भाइ भनेको सम्झनाको आँखा हो,
दाजु भनेको त्यो आँखाको नानी ,
जहाँ बालापन सिँगारिन्छ
एउटै आमाको काखमा
एउटै पिताको स्नेहमा
अनि दलानको माटोको सुगन्धमा,
जहाँ सम्बन्धहरू भिज्थे
दूध–भातको मिठासमा।
गल्ती? ती त वर्षा हुन् —
कहिलेकाहीं अत्याधिक झर्छ,
तर खेत बिगार्दैन,
गाह्रो बेला सम्हाल्ने गोठालो झैँ,
दाजुभाइ एक अर्काका बर्खे बादल बनून्,
झुक्याउने बेमानि गर्ने
परेको बेलामा भाग्ने नगरुन
दाजुभाइ को माया त
गड्याङगुडुङको रिस मात्र होइन
बरु पवित्र बर्षा वर्षाएर हरियाली ल्याउने हुनुपर्छ।
बाहिरकाले घर भित्रै खेल्न खोज्छन सबैका
बुझ्न सक्नु पर्छ
बाहिरका कुरा त हावाका पातहरू हुन् —
उड्ने, फुसफुसाउने,
तर जरामा पुग्दैनन्
ती नकारात्मक जुठा शब्द,
यदि जराहरूले आपसमा बोल्न जाने भने
श्रीमतीको मायामा चन्द्रमाको उज्यालो हुन्छ,
छोराबुहारीको आदरमा
सूर्यको झल्झलाकार प्रकाश हुन्छ
तर दाजुभाइको सम्बन्ध
त्यो त बिहानी र सन्ध्याझैँ
दिन र रात झै मिलेर
आकाशमा रंगिन चित्र कोर्न सक्छन।
दाजु हो भने
ऊ बाउ पछिको बटबृक्ष हो
परेको छायाँमा थुप्रै घामहरू सुक्दछन्।
भाइ हो भने
ऊ नयाँ कली हो —
पुराना फूलको सुवास बोकेर पनि
नयाँ गन्ध ल्याउने गर्नुपर्छ।
छिमेकी, इस्टमित्र, पराइ आवाज —
यी त नदीको गर्जन हुन्
जो कहिलेकाहीं कानमा गुञ्जन्छन,
तर मनको तटमा नछुने
बेलुन फुट्दाको आवाज झै मात्र।
साच्चै नै —
दाजुभाइको मन भाँडो हो
जहाँ रिस उम्लिन्छ,
माया पक्छ, गल्ती खनिन्छ,
र अन्त्यमा एक अर्कालाई
थाप्लोमा हात राखेर
मिठासको परिकार खुवाइन्छ।
सायद अरुले भत्किएको घर बनाउँलान
तर भत्किएको नाता?
त्यो त आफ्नै हातले बनाउनु पर्छ।
गहिरो मनदेखि उठेको आत्मीयताले,
कहिल्यै नचर्कने र नफुट्ने समर्पणले
टाल्न सकिन्छ मन चर्किएको भित्तो
“सन्तानको रगत एउटै नसामा बग्दछ,
झगडा आँधी हो —
तर घर भनेको बोट हो
जसले त्यो आँधी सहन्छ।
त्यसैले आउ, फेरि सम्हालौं
हात, नजर, र नाता —
किनभने भाइचारा भनेको विरासत हो,
जसलाई रगतको माया,
माफी र मिलनले मात्र जोगाइरहन्छ।”
डा. गोपाल पौड्याल 'मण्डने'



















