पाहाडी अन कण्टरा जमिनमा, हाम्राे बसाई हुँदा ।
खेतीहुन्छ पुगेन खान कहिल्यै,निर्वाहकाहुन् कुरा ।
पैसा हुन्न कतै र बस्तु दरमा, साटाे गरी चल्दथ्याैँ ।
यी यस्ता युग बाट उत्रनु कता ,यै तर्कना गर्दथौँ ।
(१)
जाँदैथे अघि तारुका विदुरमा,दाज्यै हरू आँतका,
पुग्ने आँट भएन भाेजपुरकाे,दिङ्लालिका साथमा ।
हामी मात्र कहाँर अन्य पनिथे, पाल्पार मग्यामका।
पढ्नेठाउँ थियाे थिएनकि कतैखाेजिंन त्याे याममा ।
(२)
हाे आफैँ नुन साट्न लान घिउमा ,जाने चतारा भरे।
बाेकी ढाकर माथि औषध जरी , लाने बटौली परेँ ।
वर्षाकाे अनि चाड पर्व दिनका,जाे चाहिनेथे किनौँ ।
आफ्नै निम्ति अनेक बस्तु घरमा, भारी लिएरै फिरौँ ।
(३)
गर्मी शीत भनीन बाेक्दछु सदा,डाेकाे कुटाे साथमा ।
बाेक्ने घाँस र दाउरा हिउँदमा,नाम्लाे सधैँ माथमा ।
काली पारछ मेदनी कृषककाे, फट्के महा तर्दथेँ ।
बस्ने गाउँछ वारि पट्टि डिलमा, खेती उतै गर्दथेँ ।
(४)
चल्ने गर्छ हुरी सदा शिशिरमा, वर्षादमा बादल ।
पाहाडी जन जीवनी अकरिलाे,यस्तै रह्याे स्थावर ।
झार्ने गर्छ चिसाे मथिङ्गल भरी,हेमन्तका जूनमा ।
गर्ने कर्म जतै बसाइछ यता , पाहाडका खूँजमा ।
(५)
वृन्दा पर्वत माथिका सयँलकाे,सापेक्षता तौलिँदै ।
त्यस्तै कर्म सुधा जीवन्त रहने,सत्मार्गमा पौरिँदै ।
उर्जा जाँगर भित्रकाे बदन ले, उच्चाे बनाई शिर ।
गर्थेँ जीवनमा परिश्रम कडा,सन्तानका खातिर ।
(६)
दुर्गाप्रसाद सिग्देल ,झापा



















