तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले 

हामी  दुईको  माया  पिरम  कस्तो झालेमाले।

तिमीले लग्यौ घुमाउन त्यो रामधुनीको वनमा

माया गरी  सजाई राख्यौ मलाई तिम्रो मनमा

हामी  दुईको  चाहत  प्रिय  रहेछ  उस्तै खाले

तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले।

चक्रघट्टी  बजार  घुमियो  फिलिम  हेर्न गइयो 

माया  प्रेममा  डुब्दा  डुब्दै  पानी पानी भइयो 

घरमा  पुग्दा   ढिला  हुन्थ्यो  गाली  गर्थे बाले 

तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले।

तिम्रा  घरमा  थाहै  नदिई  मेरा  घरमा  आयौ

भोलिपल्ट   फर्काइदिए  तिमीले  दुःख पायौ

तिमीलाई हामी माग्न  आयौँ दिए तिम्रा बाले

तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले।

साह्रै  राम्री  भएकी  थियौ  तिमी जग्गे बस्दा 

सबै  पीडा  भुले  तिमीले  अँगालोमा  कस्दा 

बनायौ  है  तिमीले  मलाई तिम्रै मनको पाले

तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले।

बजाउँदिन   बाँसुरी  म   छैन   गाईको   गोठ

लठ्ठै   पार्ने  छ  है  प्यारी  तिम्रो  लाली  ओठ

साथमै छ है तिमीले दे'को चिनो रुमाल जाले

तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले।

✍ नवशिला ।

बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ।