छैन ईश्वर थन्केकाे कुनै स्थान विशेषमा

सर्वत्र सममा ईश अस्तित्व छ प्रत्येकमा ।

मभित्र र तिमी  भित्र सबैकाे भित्र बाहिर

ईश्वर छ र हामी छाैँ निर्जीव जीवका घर।।


नासिने   नासिनै  सत्य  आत्मा   नित्य   निरन्तर

स्फुर्ति ओज सबै आत्मा आत्माकै शक्तिका भर । 

आत्मा    अमर   याे   तत्व   सर्वव्यापकमा   पर

मर्छाैँ  भन्ने  कतै  शङ्का  नराखाैँ   शिरका  शीर ।।


पञ्चतत्व  यता  सूर्य  चन्द्र नै सब ईश हाैँ 

नगिरे स्वार्थमा साना हामी नै ईश बन्दछाैँ ।

मान्न  कठिन  याे  हुन्छ शरीर मात्र साधन 

स्थायी छैन र देखिन्न तैपनि ज्ञान ख्वै भन ??


सके देख्न म नै देव ज्ञान खुल्थ्याे  कि हे मन

ज्ञानै  हाे  कर्मकाे बाटाे ज्ञानै हाे नि ठुलाे धन ।

जन्मने   हुन्छ  याे  वृद्ध  राेग  लाग्दछ  मर्दछ

सुकेका   पात  हाँगाका   जसरी  झर्नु  पर्दछ ।।


न  जन्मन्छु  म  याे सत्य न मर्छु छु परापर

शरीर  मात्र  मानेमा मर्छ र खाेज्छ याे घर।

यत्ति  हाे  ज्ञान  अज्ञान बुझी दृढ भए मन 

ज्ञान अमरमा हुन्छ मुक्ति हाे नित्यकाे धन ।।


- हरिभक्त सिग्देल ' महेश '