सोंचमा केको अङ्कुस?
सोंचमा केको प्रतिबन्ध ?
सोच्न पनि
पार्टीको
आदेश चाहिने!
श्रीमानलाई
श्रीमतीको
श्रीमतीलाई
श्रीमानको
स्वीकृति चाहिने!
अहँ! लोकतन्त्रमा
यस्तो प्रतिबन्ध
अपाच्य ठहर गरौँ ।
अन्तमर्नुखि होइन
खुलस्त बनौँ
कपटी होइन
खुल्ला बनौँ
घोप्टे होइन
उत्तानो बनौँ
होचो होइन
अग्लो बनौँ
शिर ठाडो पारौँ
सगरमाथा बनौँ!
साँचोलाई साँचो
झुठोलाई झुठो
सेतोलाई सेतो
कालोलाई कालो
भ्रष्टलाई भ्रष्ट
सज्जनलाई
सज्जन भनौं
ठीक बेठीक
के हो?
दिल खोलेर सोंचौँ!
सय वर्षमा
पचास वर्ष सुतेर
बीस वर्ष खेलेर
पन्ध्र वर्ष काम गरेर
पन्ध्र वर्ष -
अरूका कुरा काटेर
बिताउँछ मान्छेले !
खै! मान्छेको
दिल खोलेर
सोच्ने समय!
हाँस्ने समय!!!
म्मआजको मान्छे
प्रकृतिदेखि टाढा
शहर बजारमा
बनावटी
नक्कली जीवन
बाँचिर्हेको छ
दास बनेर !
दुई दिनको जिन्दगी
नराखौँ बन्दकी
मरेपछि
सबैको
जाने ठाउँ
एउटौ हो
काली गण्डकी /
दिल खोलेर
भन्न सकौँ
निफन्न सकौँ
आफ्नो मत
अभिमत
जाहेर गर्न सकौँ
अनि पो
यो क्षणभंगुरजिन्दगी
जिन्दगीजस्तो हुन्छ।
जति दिन बाँच्छौँ
खुलस्त बाँचौँ
स्वतन्त्र बाँचौँ
हाँसेर बाँचौँ
नाचेर बाँचौँ
खुलेर बाँचौँ।
• देवी पन्थी



















