सन्तान नित्य सुखको अति चाहनाले
बढ्दै गयो भुवनमा मम भावनाले
गल्ती गरें कि त स्वयं जगमा नजानी
हेर्दैछु आज म यहाँ कति छन् र ज्ञानी
बिर्सी सबै उदर खातिर मात्र लागें
भर्नै छ पेट तव आखिर सम्म लागें
बाटो भुलेँछु अब लौ भन के गरौं म
को दिन्छ साथ जगमा र उतै सरौं म
हेर्दैछु आज धनले कति दिन्छ साथ
धनकै घमण्ड अति भो र झुकेन माथ
धिक्कार भो मनमनै पछुतो छ आज
वैरी भए सब यहाँ छुटियो समाज
व्यर्थै भयो सब गयो रहँदैन केही
यस्तै रहेछ सबको बुझदैन देही
लाखौं प्रयत्न गर तै पनि हुन्न राम्रो
हाम्रो भनेर जति गर्दछु हुन्न हाम्रो
भन्छन् सबै झुट रहेछ त के छ साँचो
सोधौं कता तिर गई म भएंछु काँचो
बाच्दैन देह पनि लौ अब के छ सार
आध्यात्म ज्ञान नलिई न त हुन्छ पार
चिरञ्जीवी काफ्ले
रङ्गेली ९ मोरङ्ग



















