हिन्दू धर्मावलम्बीहरूले मनाउँदै गरेका चाडहरूमध्ये तीज अर्थात् हरितालिका पर्व एउटा छुट्टै अनि विशेष महत्व बोकेको पर्व हो। 

प्राचीन कालमा पर्वतराजकी पुत्रीको विवाह प्रसङ्ग सङ्ग जोडेर हेर्ने  हो भने - 

घरमा सन्तान हुर्किएपछि स्वभाविक हो बाबुआमालाई चिन्ता बढ्दै जान्छ । यसै शिलशिलामा पर्वतराजलाई पनि आफ्नी छोरी ठुली हुँदै गएकोमा चिन्ता भइरहेको थियो । आफ्नी छोरीका लागि योग्य वरको खोजी लामो समयदेखि गरिरहेका थिए। एक‌ समय पर्वतराजको दरबारमा स्वयं विष्णुलोकबाट भगवान श्रीहरि विष्णुको आगमन भयो । सम्पूर्ण देवगढ राक्षस यक्ष किन्नर आदि उपस्थित भएका ठाउँमा पर्वतराजले आफ्नी पुत्री पार्वतीको विवाह श्री हरि विष्णुसँग गरिदिने निधो गर्नुभयो । यो शुभ समाचार सुनाउनका लागि पर्वतराजले सबैतिर सूचना प्रवाह गरिदिनु भयो । विवाहका लागि समयअनुसार निमन्त्रणा गर्ने कार्य हुँदै थियो । यता पुत्री पार्वतीका कानमा पनि यो समाचार पुग्यो । सुनेपछि उनी एकदमै विक्षिप्त भइन् । कहाँ जाने के गर्ने कसलाई भन्ने द्विविधामा परेर एकोहोरीई रहेकी थिइन् । आफ्ना सखीहरूसँग सधैँ वनविहार गर्ने , खेल्ने , रमाइलो गर्ने उमेरकी पार्वती विवाह बन्धनमा बाँधिने समाचार सुनिसकेपछि उनलाई एक किसिमको औडाहा भयो । उनको यस किसिमको अवस्था देखेर सखीहरू पनि अचम्ममा परे । एकजना सखीले पार्वतीलाई सोध्ने भइन् हे सखी आज सधैँ झैँ प्रसन्न मुद्रामा देखिँदैन। यसको कारण हामी जान्न चाहन्छौं के भएको छ ? 

 धेरैले पटकपटक पार्वतीलाई यस्ता प्रकारका प्रश्न गरिरहँदा पनि पार्वतीले खुलस्त भएर आफ्नो समस्या साथीहरुलाई बताउन सकिनन् । अन्तमा साथीहरुले धेरै कचकच गरेपछि सुनाउन बाध्य भइन् । र भनिन् हे सखीहरू हो म एकदमै चिन्तामा छु। मेरा पिताजीले मेरो विवाह बैकुण्ठवासी श्रीहरी विष्णुसँग गरिदिने निधो गर्नुभएछ। मलाई यो निर्णय किमार्थ पनि स्वीकार्य छैन म के गरौँ ?

यति कुरा सुनिसकेपछि सखीहरुले एउटा निर्णय गर्न पुगे र  भने हे पार्वती ! हे प्रिय सखी ! हामी के को लागि ?  तिमीलाई यो समस्या परेको हो भने हामी समाधानको बाटो देखाउँछौँ नाई भन्न पाइँदैन। पार्वतीको अनुहारमा केही उत्साहका रेखाहरु कोरिन थाले । पार्वतीले भनिन् के छ त्यस्तो उपाय ? सखीहरू भन्छन् हामी तिमीलाई हरण गरेर यो ठाउँबाट धेरै पर लैजान्छौं। जहाँ तिमी हामीभन्दा बाहेक कोही पनि हुने छैनन् । कहाँ छौं के गर्दैछौं कसैलाई थाहा हुने छैन। जब विवाहको समय कटी सक्छ त्यसपछि हामी फर्कौँला । पार्वतीलाई सखीहरूको कुरा स्वीकार्य भयो। त्यसपछि सखीहरूका साथमा पार्वती पनि त्यो गुप्त क्षेत्रतर्फ लागिन् । साँझ पर्न थालिसक्यो साथीहरुसँग खेल्न घुम्न गएकी छोरी अहिलेसम्म घर फर्केकी छैनन् । यता पर्वतराजलाई ठूलो चिन्ता पर्न थाल्यो । पार्वतीलाई खोजी गर्नको लागि चारै दिशामा गणहरू पठाइयो । कसैले पनि भेट्यौं पत्ता लगायौं पार्वती यो अवस्थामा यहाँ छिन् भनेर  पर्वतराजलाई सुनाउन सकेनन् । उता पार्वती जहाँ बसेकी थिइन् त्यो गुप्त स्थानमा कन्दमूल र फलफुल खाएर अत्यन्तै ठूलो व्रत गर्न थालिन् । जुन व्रतका प्रभावले स्वयं कैलाशवासी देवादिदेव महादेव को पनि आसन डगमगाउन थाल्यो । भगवान शिवजीले यो के अचम्म हुन गयो कहाँ के भइरहेको छ भनेर आफ्नो दिव्य दृष्टिबाट हेर्न थाले । हेर्दै जाँदा घनघोर वनभित्र एउटा गुफामा एउटी अत्यन्तै सुन्दर युवती तपस्या गरेर बसिरहेको देखे। महादेवको नजरमा ती युवतीको त्यो कठोर तपस्याको  दृश्य परेपछि कैलाश पर्वतबाट उठेर महादेव स्वयं त्यस स्थानतर्फ जानुभयो । त्यहाँ पुगिसकेपछि महादेवले भन्नुभयो हे कन्या तिमी को हौ ?  तिम्रो यो कठोर तपस्या केका लागि ? म तिम्रो यो तपस्या बाट प्रभावित भएँ । भन तिमीले यो व्रत किन लियौ ? महादेवका यस्ता वचन सुनिसकेपछि पार्वतीले बिस्तारै आँखा खोलेर भनिन् हे महादेव म पर्वतराज पुत्री पार्वती हुन्। मैले थाहा पाएदेखि एउटै सङ्कल्प लिएकी छु । पछि गएर जब मेरो विवाहको समय आउँछ त्यो बेला म विवाह गर्छु भने केवल महादेवसँग मात्र विवाह गर्छु। यो मेरो संकल्प हो। तर मेरा पिताजीले यो कुरा थाहा नपाइकन मेरो विवाह बैकुण्ठवासी श्री हरि विष्णुसँग गरिदिने निधो गर्नुभएछ त्यसैले म महादेवलाई स्वामी पाउन यहाँ बसेर तपस्या गरिरहेकी हुँ। महादेवले पार्वतीको यस्तो कुरा सुनिसकेपछि के भन्ने नभन्ने हुँदै ल तिमी आफ्नो व्रतलाई पूर्ण गर तिमीले जे चिताएकी छौ त्यो पुरा हुनेछ । भगवान शंकरका मुखारवृन्दाबाट यस्तो वाणी सुनिसकेपछि पार्वती प्रसन्न भइन् । 

यो प्रसङ्गबाट के स्पष्ट हुन्छ भने साथीहरूले हरण गरेर पार्वतीलाई त्यो एकान्त कुनामा लुकाएर राखेको हुनाले यस पर्वलाई हरितालिका पर्व भनियो  । हरितालिकाको अर्थ हो हरित भन्नाले हरण गरिएको र आलीका भन्नाले साथीहरू  अर्थात् साथीहरूले हरण गरेको हुनाले हरितालिका भनिन गयो ।

यस प्रसङ्गबाट बुझ्न सकिने अर्को सत्य के हो भने हिन्दू समाजमा वा हिन्दू धर्ममा महिलाहरूको अधिकार सुनिश्चित भएको वा नारीले हक हित र अधिकार प्राप्त गरेको दिन पनि हो यो । देवताहरूको पालाको महत्वपूर्ण घटना मान्न सकिन्छ यस दिनलाई । आफूले इच्छाएको कुरा पाउनुपर्छ भन्ने उदाहरण पनि यहाँबाट पाइन्छ । देवी-देवताकै पाला देखि अधिकारको कुरा खोजिँदो रहेछ । आमरण अनसनको सुरुवात त्यो बेला देखि भएको रहेछ भन्ने पनि पाइन्छ । यसरी ब्रत बसेर ईच्छाको वर प्राप्त गरेको त्यो दिन यही भाद्र शुक्ल पक्षको द्वितीया तिथिका दिन भएको हुदा निराहार रहेर मुखमा पानी पनि नलिई ब्रत बस्नाले विवाहितका लागि पतिको दीर्घायुको कामना गरिने , पारिवारिक सुख शान्ति र समृद्धिको कामना गरिने । अविवाहितहरुले योग्य दक्ष र अनुशासनमा रहेको सुन्दर वर पाउने परम्परा रही आएको छ ।

यो धार्मिक तथा ऐतिहासिक कथनपछि मानव सभ्यताको विकास हुँदै गयो र यो पर्व सामाजिक रुपमा परिस्कृत हुदै गएको पनि पाइएको छ । असार श्रावणमा खेती गरेर थकित भएकी छोरी वा दिदीबहिनी वा फुपु लगायत महिला जातिलाई माइती पक्षले एकदिन भएपनि माइतीघरमा बोलाएर मिठो मसिनो खुवाउने एकदुई दि

चिरञ्जीवी काफ्ले