म आफू बाँचेको
त्रासदीपूर्ण युगको डिलमा
एक्लै ठिङ्ग उभिएर
भयङ्कर अनौठो सपना देखिरहेको छु
सारा इन्द्रियहरु तन्द्रामा छन्।
एउटा आँखाले देखिरहेको छु
भविष्य उज्यालो छ
इतिहास जलेको
खरानीको विशाल थुप्रोमा
आँसुमा माटो मुछेर
नयाँ इतिहासका
भव्य खम्बाहरु ठडिदैछन्।
अर्को आँखाका दृश्यहरु
अस्पष्ट छन्
केही पनि देखिंदैन
घना तुवाँलोको पर्दाले ढाकेको
कालो आकाश जस्तो
घोर अन्धकार मात्र देखिन्छ
म
विस्तारै-विस्तारै विघटित हुँदैछु।
आफैसँग सोधिरहेको छु
मेरो
तेश्रो आँखा बन्द भएको
अन्योलग्रस्त बेलामा
म कुन आँखाको
दृश्यलाई विश्वास गरौँ !!
म रनभुल्लमा परेर
पलपल छट्पटाइरहेको छु।
बाबुराम न्यौपाने "उत्स"/ दमक,झापा



















