अहमताको धुरी 

जति नै माथि चढे पनि

दम्भ गरेर साँढेझैँ 

जतिसुकै ठूलो आवाजमा डुक्रिए पनि

दुनियाँको मन रुवाएर 

कालो धन थुपारे पनि


चढेर क्रोधको वायुपंखी घोडा

कहाँ पुगिएला र लक्ष्यमा

शक्ति र पहुँचको आडमा

बनेर मैमत्ता

कसरी जितिएला र सत्यलाई

लगाउँदैमा भ्रमको कालो पर्दा

कहाँ बिर्सन्छ र उदाउन सूर्य

गरेर भ्रमको खेती 

कहाँ उम्रन्छ र सिर्जनाको बेर्ना


भो ओकाल्न छोड 

कुण्ठा मिश्रित भावहरू

तिमीले गरेका हिजोका कुकृत्यहरू 

घाम झैँ छर्लङ्ग छन्


भावाभेषको भुमरीमा

नगर अब रैँदालो

तिम्रै जिद्दीले तिमीलाई लखेटिरहेछ

नहिँड यसरी हरेक वचनमा

बोकेर आताताई कुण्ठा


आखिर

खाने भातै हो 

पुग्ने घाटै हो।


नवराज नवशिला ।

, नवदेव मार्ग, लालभित्ती, मोरङ।