भान्छामा

भान्छाकै सौता बनेर

भित्रीएको छ भोक

निकै भयो ओदान माथी

शीत पर्न थालेको पनी

आँगन ढकमक्क ढाकेको छ

डेंगुका फूलहरुले

खाटा उस्तै छन अझै

जस्ताको तस्तै छन

विश्व अर्थतन्त्रलाई

ध्वस्त बनाएर ओझेलिएको

कोरोना कहरका।


यै बेलामा 

टुपलुक्क आइपुग्यौ तिमी

समयचक्रको बुँई चढेर

खुशी हुनै पर्ने 

रमाउनै पर्ने बाध्यात्मक मन्जुरीना पत्रमा

निसर्त हस्ताक्षर गराउन

मन त थियो

रमाई दिउँ निसर्त

निसर्त स्विकारी दिउँ तिम्रो सर्तनामा।


पोहोर 

परारको बडा दशैंमा

निलो आकाशमा हावाको बेग समातेर

आनन्दको उचाई लिदै गरेका

राता पहेला चंगाहरु झै

चोक,चौताराहरुमा हुँईकिदै गरेका

रोटेपिङ्गहरु झै

पुजा कोठाको छेउमा

स्वर्ण मुस्कान बाँडिरहेका जमाराहरु झै

आमा बुवाको आसिर्बादले 

गुँरास झै फुलेको निधार झै


तर,

कसरी रमाउँ

गृहलक्ष्मिको फाटेको धोतीको फेरबाट

फुस्किरहेको छ कुलकै लाज

फेर्न सकिएको छैन

छोराको कमिज

आफ्नो जुत्तामा भ्वाङ्ग परेको उहिल्यै हो

चिठीपत्र समेत नआएको धेरै भयो

प्रदेशी भाइको

कतै केही अप्ठ्यारोमा पो पर्‍यो कि उ

प्रदेशको कुरो

आङ खस्ने बिमारले माइती आउन सकेकी छैन बहिनी।


अलग्गै गरौला

पशुबलि प्रथा सहि/गलतको ब्याख्या

कसरी थुन्न सक्छु र 

बालख्ख छोरीको आँखामा बगेका आँसु 

लगातार रोइ रहेकी छे उ

चिचिपापा भन्दै 

डाक्टरले हरियो सागपात

मासुमा कलेजो कलेजो खानु भनेक छन आफैलाइ पनी

सानो छदा त,

तिमी आए पछी एकबटुको झोल

दुइ फिणका भुटन त खान पाइन्थ्यो

यस्पाला त असम्भव छ त्यै पनी ।


अनी,

कुन मुखले स्वागत गरु म तिम्रो

के खाएर रमाउ तिमीसङ्ग

एकातिर खरानी भएको छ पुस्तेनी सिंहदरबार

अर्कोतिर छोरापुस्ताको रगतमा डुबेको छ संघिय राजधानी

यती हुँदाहुँदै पनी

किन आयौ पनि भनिहाल्न सक्दिन म तिमीलाई

सदियौ 

देखी मानी आएको परप्परा जो हौ

नानी देखि लागेको बानी जो छ हाम्रो 

त्यस्माथी पनि

अरुको खुसी खोस्ने आदत छैन मेरो

यसै पनि आँसु चपाएर,हाँस्न सक्ने

नेपालीको छोरो म

म बुझ्छु

तिम्रै बाटो हेरिरहेका होलान

हजारौ हजार साँस्कृतिक मनहरू

मेरो बस्तीको डिलबाट

तसर्थ 

आउ दशै,आरामले आउ

न्यानो स्वागत छ तिमीलाई

जाँदा 

भोक चपाएर अघाउने शक्ति दिएर जानु

आशुँ लुकाएर हाँस्ने सामर्थ्य दिएर जानु

यत्ती कृपा गर हे जगत जननी दुर्गा!

उही तिम्रो आशातित बत्स!!

भोको कवि

दशैंघरबाट।

दशै घरबाट।।


एमपी पाण्डे