शिवपुरी डाडाको टुप्पामा पुगेर यतिबेला

मेरो सजिव सालिकले दर्शन गरिरहेछ

चिच्याई चिच्याई रोईरहेको राजधानी


हरेक साँझ त्यही बाटो हुदै अहिले

मुसुक्क मुस्कुराउदै हिडिरहेछन्

आमाको आङ्गमा आगो लगाउने 

आफ्नै लास बोकेका निर्लज्ज मलामीहरु


खरानी कै अस्थिपञ्जरमा टाँसिएर

बिजय विरताको रद्दी रवाफ दिएर

खिच्छन् दुईचारवटा

आफ्नो आत्माहत्या पछिको लास जस्ता सेल्फीहरु

अनि मुत्छन् त्यही खरानी माथि खुट्टो उचालेर

खै फेरी कता हराउछन्

ती केही थान पाल्तु कुकुरहरु


रातको निष्पट्ट अध्यारो छिचोलेर

छामछुम गर्दै हिडिरहेका देखिन्छन्

राष्ट्रघातका साक्षत सुराकी योजनाकारहरु

पस्छन् हुल बाधिएर

रजस्वलाले रङ्गिएको बेश्यालयमा

सम्भोग गरेर गिजोल्छन् हरेक गिदी मथिङ्गल

जन्माउन खोज्दैछन् फेरी उनीहरु

आमाको अस्मिता लुट्ने अबैध सन्तान


उठ्छन् हतारमा बिहानको कलिलो किरण संगै

आउछन् १०८ मणि माला गन्दै हत्याराहरु

गणतन्त्रवादीको असली चिया पसल लेखेको ठाउँमा

पिउछन् बच्चाको काँचो रगतमा पकाएको चिया

रगत लत्पतिएको मुखबाट

ॐ मणि पद्मो हुँ मन्त्र जप्दै निस्कन्छन्


अल्मलिएर आफै हराउदैछन्

देश खोज्न हिडेका नयाँ पुस्ताहरु

देशद्रोहीको सेकुवा पसलमा पुगेर

सोध्छन् देशको ठेगाना

फेरी त्यही सिकाईदैछ उनीहरुलाई पनि

आमाको सपना पोलेर सेकुवा बनाउने कला


म हेरिरहेछु यही शिवपुरी डाडाबाट

छ त केवल राजधानीमा

पराईले प्राण भरिदिएको पापीहरुको संगठन छ

छ त केवल राजधानीमा

सिंहदरवार जलेको एक थुप्रो खरानी मात्र बाँकी छ ।


प्रज्वल पुकार