भो, आश्चर्य मान्नु पर्दैन
मौसम जस्तै
मान्छे बदलिनु
या मौसम अनुसार
मान्छे बदलिनु
प्राकृतिक नियम हो
विश्वव्यापी
ध्रुबसत्य हो।
नबुझ्नेले
मान्छेलाई
बदलिएको
दोष लगाउँछन्
तर बुझ्नुहोस्
मान्छे स्वयं बदलिन्न
मान्छेलाई -
कहिले मौसमले
कहिले परिवेशले
कहिले भूगोलले
कहिले संगतले
कहिले अभावले
कहिले बाध्यताले
कहिले शिक्षाले
कहिले दीक्षाले
कहिले पीडाले
कहिले यातनाले
कहिले राजनीतिले
कहिले विचारले
बदलिन बाध्य गर्छ।
तसर्थ
मौसम पनि
मान्छे जस्तै रहेछ,
कहिले घाम बनेर हाँस्छ
कहिले बादल बनेर रुन्छ
कहिलेकाहीं विध्वंस गर्छ
जेन्जीले झैँ
धुलो उडाउँछ
कहिलेकाहीं
पश्चताप र पीडामा
आँसुले आँखा धुन्छ ।
कहिले घामले जस्तै
सबैलाई जलाउँछ
अथवा तताउँछ
कहिले चिसो मन लिएर
हिउँको ओछ्यान
बिछ्याउँछ, चिस्याउँछ।
कहिले कालो बादलको
कपाल खोलेर
राग गाउँछ
विलौना गर्छ
निलो आकाशमा,
कहिले बिजुली चम्काएर
रिसाउँछ
अनायासै
तर्साउँछ धरामा।
कहिले
सुगन्ध बर्साउँछ
कोमल मन भिजाएर,
कहिले
आँधी ल्याउँछ
हामी सबैका
सपना उडाएर
घरबार बिहिन
बनाएर
हो, मौसम पनि
मान्छे रहेछ
उसको स्वभाव
बदलिन्छ,
कसैको मायाले
अचानक उज्यालिन्छ,
कसैको बेवास्ताले
अचानक उदास हुन्छ
निरास हुन्छ
भड्किन्छ ।
अब भन्नुहोस्
चौरासीलाख प्राणीमा
मौसम जस्तो बदलिने
इन्द्रेणीको जस्तो
रंगीन स्वभाव भएकोे
विचित्रको गुण
मान्छे बाहेक अरू
कुन प्राणीमा होला र?
त्यो मात्र मान्छे नै हो
जसले रिस र प्रेम
क्षणमा वर्षाउँछ
एकैसाथ दर्शाउँछ
राग, विराग
अनुराग सँगसँगै ।
... देवी पन्थी
छठपूजा, विराटनगर



















