उहिल्यै कतै

नित्सेले भन्यो

भगवान मरिसक्यो

तथापि मैले 

सधैं पत्याएको छु

सबैको दाता उही हो

त्राता उही हो

व्याख्याता उही हो


साँच्चै हो भने

ए! भगवान् 

के  दिन्छस् त मलाई?

सक्छस् भने

तैँले आफै लगेको

तेरो सारथी - समयले खोसेको

 अकारण खर्च भएका

 मेरो समय फिर्ता दे।

दाता नै होस् भने


ए ! परमात्मा

मेरो ऐश फिर्ता दे

 मेरो बैश फिर्ता दे,

 मेरो हाँसो फिर्ता दे

प्रेमको नासो फिर्ता दे,

सबै सबै फिर्ता दे

अढाई दशक अघि जे थियो।


मागेकै के छ र तँसँग

लौ विनिमय गरौं बरु

मैले पनि फिर्ता गर्नेछु केही कुराहरू

एक पित्को खुशीको लागि

एक हृदय रुन पर्ने यो मुटु तँलाई,

केही दिन रोमाञ्च दिएर

जुनीजुनी पीडा छोडी जाने

प्रेमको जालो तँलाई 

 सधैँ जुध्नु परेका

पराइजस्ता आफ्नाहरू तँलाई, 


यो उच्छ्वास तँलाई

यो सन्नाटा तँलाई

यो भ्रम यो धोका

सबै सबै तँलाई

अनि बल्ल 

मित्रता हुनेछ हामीबीच

म भित्रको ईश्वर

र 

ईश्वर भित्रको म बीच।

मिना श्रेष्ठ 

खोटाङ