अरूजस्तै
कवि पनि
स्वार्थी छ
जोसँग पनि
जाति छ
तालपर्दा
समर्थक
ताल नपर्दा
विरोधी देखिन्छ।
हिजो
बसन्तको
समर्थक थियो
आज
हेमन्त आयोभन्दै
रमाउँछ
भोलि हेमन्त गयो
भन्दै रमाउने छ।
उहिलेको कवि
हेमन्त ऋतु आउँदैछ,
सर्दीको सुखद
पल ल्याउँदैछ
पर्वतलाई
बर्फले सजाएर
मान्छेको मनलाई
पुलकित
बनाउँदै छभन्दै
कविता लेख्यो
कविको कविता
पढेर
हामी रमाउँथ्यौँ
आज कवि
शहर पसेको छ
त्यसैले ऊ
हेमन्तको विरोधी
भएको छ।
युवा पुस्ताले
रंग बदलेको,
वनमा दिउँसै
साँझ ढलेको।
सुन्दर छन्
हेमन्तका रंग,
प्रकृति स्वयंको
हेर्दै छु म उमंग
भन्दै लेख्यो कविले ।
शीतल हावा
बाटोमा आउँछ,
दिनलाई सोझै
रातमा मिलाउँछ।
आँसुले भरेको
हाम्रो दृष्टि,
हेमन्त ऋतु छ
अनूपम
सृष्टि छ
लेख्यो कविले।
आज कवि
स्वार्थी बनेर
त्यही कलमको
मसी फेरेर
निर्धक्क लेख्दै छ-
मंसिर जाऊ
पुस जाऊ
हेमन्त जाऊ,
बादल तिमी
पानी वर्षाऊ
जाडो लैजाऊ
हिउँ हटाऊ
हेमन्त भगाऊ।
पृथ्वीको
वार्षिक गतिले
सूर्यको किरणमा
ल्याएको छ परिवर्तन
हरेक ऋतुमा
आएको परिवर्तन
समाजमा
समयले
ल्याएको
परिवर्तन जस्तै
हुने गर्छ।
कहिले
पृथ्वीको
उत्तरी गोलार्ध र
कहिले यसैको
दक्षिणी गोलार्धमा
भएको अनौठो
उल्टो सुल्टो परिवर्तन
स्वीकार्न
बाध्य छ मान्छे ।
दक्षिणी गोलार्धमा
बसे पनि
उत्तरी गोलार्धमा
बसे पनि
प्रकृतिसँग
शिर निहुराएर
परिवर्तनलाई
स्वीकार्न
बाध्य हुने गर्थ्यो
हिजोको मान्छे
हुनैपर्छ
आजको मान्छे
स्वार्थी मान्छे पनि।
• देवी पन्थी
विराटनगर ११



















