चुलो बलेन कारण ग्यास पाईएन
धुवाँ चाहिएन , बरु तातो खाईएन
चुल्होको परंपरागत तरिका सडेको छ
किनभने चेतनास्तर बढेको छ
के हो यो ओदान भनेको, चुलढुँगा किन
झिंजा, गुइठा, दाउराका गईसके दिन
अव त मनमा इन्डक्सन चुलो चढेको छ
किनभने चेतनास्तर बढेको छ
हिजो आत्मनिर्भर थियौ त के भयो
मेहनतको पसिनाको के अर्थ थियो
अब आधुनिकताको पारा चढेको छ
किनभने चेतनास्तर बढेको छ
पधेरा, इनार, कुवा र मुलको पानी
यी सबै हुन रोगको खानी राम्रेरी जान अज्ञानी
बोतलको पानीको महिमा अपार बनेको छ
किनभने चेतनास्तर बढेको छ
पुरानो सोच हो खोल नदी हुन्छन पवित्र
आज त तिनले बोक्छन हाम्रो मलमुत्र
मलमुत्रले जमिन किन पो मल्नु परेको छ
किनभने चेतनास्तर बढेको छ
कुलो किन, चँदेरो किन, किन पानी घट्ट
सबै तैयार पकेट बन्द पाईने झट्ट
कोरिया छ, मलेसिया छ नगद गोजीमा बसेको छ
किनभने चेतनास्तार बढेको छ
छिमेकीले निहुँ खोजेर कष्ट भयो त के भयो
यत्रा मित्र छन भिक्षपात्र लियो माग्न गयो
स्वाभिमान र आत्मनिर्भरता इतिहास बनेको छ
किनभने चेतनास्तर बढेको छ
अस्ति पानी बन्द गर्दा नालापानीमा झुकिएन
हिजो नुन मट्टीतेलमा माग्न कोहोहोलो भएन
आज सपना विपनामा इन्धन इन्धन वर्वराहट चढेको छ
किनभने चेतनास्तर बढेको छ
खेती गर्न मल छैन, विउ छैन
मुलुक भित्र हिड्डुल गर्ने जिउ छैन
नाकाबन्दी सावितीमा मुलुकै अडेको छ
किनभने चेतनास्तर बढेको छ।
देश स्थापना गर्नेलाई हत्यारा भन फुलमाला तैयार छ
मुलुक टुक्र्याउने भनि डुक्रनेलाई तुल लम्पसार छ
नेपाल एक नेपाली एक नभन रिस चढेको छ
किनभने चेतनास्तर बढेको छ
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।८।२७



















