काठमाडौं।नेपालको पहिलो आधुनिक सडक सुरुङ मार्ग नागढुंगा,नौबिसे सुरुङ आगामी साउनदेखि नियमित सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। २.६८ किलोमिटर लामो सुरुङ सञ्चालनमा आएपछि काठमाडौं प्रवेश तथा बाहिरिने यात्राको समय घट्नुका साथै ट्राफिक जाम, इन्धन खपत र ढुवानी लागत कम हुने अपेक्षा गरिएको छ।
आयोजनाका अनुसार सुरुङभित्रका प्राविधिक संरचना, सुरक्षा उपकरण र सञ्चार प्रणालीको जडान सम्पन्न भइसकेको छ भने हाल सुरक्षा तथा आपतकालीन प्रणालीको परीक्षण भइरहेको छ। सुरुङको सञ्चालन तथा मर्मतसम्भार पाँच वर्षका लागि युसिन एआरटी कम्पनीले गर्नेछ।
दैनिक करिब ८ हजार सवारीसाधन आवतजावत गर्ने नागढुंगा–नौबिसे खण्डमा सुरुङ सञ्चालनपछि करिब ६० प्रतिशत सवारीसाधन सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। यसलाई नेपालको सडक पूर्वाधार आधुनिकीकरणतर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ।




















