परिवर्तन समयको गतिसँगै कुनै पनि वस्तु, सोच, अवस्था वा परिस्थितिमा आउने फेरबदल र रूपान्तरण हो। यो प्रकृतिको यस्तो शाश्वत नियम हो, जसलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन र यहाँ समयबाहेक अरू सबै कुरा परिवर्तनशील छन्। दिनपछि रात पर्नु, मौसम फेरिनु, पालुवा पलाएर फेरि झर्नु र एउटा शिशु बिस्तारै वृद्ध अवस्थामा पुग्नु प्रकृतिका स्वाभाविक परिवर्तन हुन्। संसारमा आएको यही परिवर्तनकै कारण मानव सभ्यता ढुङ्गे युगबाट आजको आधुनिक र प्रविधियुक्त युगसम्म आइपुगेको हो।

जीवनमा आउने सुख-दुःख, उतारचढाव र चुनौतीहरू पनि परिवर्तनकै रूप हुन्, जसले मानिसलाई परिपक्व र बलियो बनाउँछन्। जसरी एउटा ठाउँमा जमिरहेको पानी धमिलो र दुर्गन्धित हुन्छ तर बगिरहेको नदी सधैँ सफा रहन्छ, त्यसैगरी जीवनलाई जीवन्त राख्न परिवर्तन अपरिहार्य छ। पुरानो अवस्था, पुराना कुरुती र पुराना विचारहरू भत्किएर नयाँ सम्भावना र सोचको जन्म हुनु नै वास्तविक परिवर्तन हो। त्यसैले, परिवर्तनसँग डराउनुको सट्टा यसलाई सहज रूपमा स्वीकार गरेर आफूलाई समयअनुसार ढाल्दै अघि बढ्नु नै बुद्धिमानी हो।

जमुना क्षेत्री 

इटहरी