विराटनगर । मन्जिना फाउन्डेसनद्वारा आयोजित अन्तरस्थानीय तहस्तरीय विराट फुटसल च्याम्पियनसिपको उपाधि विराटनगरले जितेको छ। फाइनलमा बेलबारीलाई ५–३ गोलअन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो।

उपाधिसँगै विराटनगरले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बेलबारीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

प्रतियोगितामा मोरङका सुन्दरहरैंचा, केराबारी, बेलबारी, बूढीगंगा, विराटचोक र विराटनगरका ६ टोलीको सहभागिता रहेको थियो। विजेता तथा उपविजेतालाई कोशी प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।

युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।