बेलबारी । बेलबारी साहित्य विकास समितिले आफ्ना विगतका गतिविधि, साहित्यिक कार्यक्रम तथा ५६ जना लेखक–साहित्यकारका लेख, रचना र तस्बिर समेटिएको साहित्यिक स्मारिका ‘सिंहावलोकन’ प्रकाशन तथा लोकार्पण गरेको छ।
बेलबारी नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम लेखक, साहित्यकार, शैक्षिक, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थितिमा स्मारिकाको लोकार्पण गरिएको हो।
कार्यक्रममा समितिका मुख्य सल्लाहकार तथा स्मारिकाका प्रधान सम्पादक ईरान राईले स्मारिकाको प्रकाशनको सन्दर्भ, यसको साहित्यिक महत्त्व तथा समितिले हालसम्म सञ्चालन गरेका विविध साहित्यिक गतिविधि र संस्थाको सक्रियताबारे प्रकाश पारेका थिए।
शुभकामना मन्तव्यका क्रममा उपन्यासकार मधु गुरुङ, समीक्षक डा. दीपक न्यौपाने, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, समाजसेवी प्रताप थापा, शंकर गुरुङ र मनकुमार गुरुङ लगायतले कला–साहित्यको प्रवर्द्धन तथा बेलबारीलाई राष्ट्रियस्तरमा परिचित गराउन समितिले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले स्मारिकामा राष्ट्रका ख्यातिप्राप्त लेखक–साहित्यकारदेखि कक्षा ६ मा अध्ययनरत स्थानीय विद्यार्थीहरूसम्मका लेख र रचना समेटिएको उल्लेख गर्दै यसलाई महत्वपूर्ण साहित्यिक दस्तावेजको रूपमा व्याख्या गरे। उनले साहित्यिक स्रष्टा र संस्थाहरूबीचको सहकार्य तथा आपसी सहयोगले सफलता र सक्रियता बढाउने विश्वास व्यक्त गर्दै बेलबारी नगरपालिकाले कला–साहित्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजनसमेत गरेको जानकारी गराए।
लोकार्पण कार्यक्रममा अग्रज साहित्यकार हर्कमान तामाङ, लेखक युवराज बास्कोटा, प्रलेस केन्द्रीय सदस्य तिला लेकाली, सुन्दरहरैंचा कला साहित्य समितिका अध्यक्ष डा. दीपक न्यौपाने, कोशी कला साहित्य परिषद्का अध्यक्ष केशु विरही, डिएर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवस, प्रलेस मोरङका अध्यक्ष यज्ञ सुवेदी, सुसेली आम्लाबुङ कला साहित्य संसारका अध्यक्ष धनजित पराजुली लगायतका साहित्यकार, सर्जक तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा पथरीका साहित्यकार अशोक साम्पाङ (विद्रोही कान्छा), इटहरीका साहित्यकार श्रीप्रसाद पोख्रेल, विनोद विवस तथा गणेश बाछानाले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।
समितिका उपाध्यक्ष गोविन्द चोङ्बाङको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष रमेश निरौलाले गरेका थिए भने शिव सहयात्री र विमला सुवेदीले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।






















