इनरुवा।असार ६ — साहित्यिक संस्था सिर्जनामा इनरुवा को ५०औँ स्वर्णजयन्ती शृङ्खला शनिबार सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष लीलानाथ सिलवालको सभापतित्व तथा सुनसरी बहुमुखी क्याम्पसकी प्रमुख लीला आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिका रूपमा सल्लाहकार तथा प्राज्ञ जीवनाथ पोखरेल ‘पन्छी’, वरिष्ठ कवि तथा नाट्यकर्मी भरत गुरागाईं ‘बर्बरिक’, समाजसेवी तथा कवि मीरा पोखरेल, महाकाव्यकार डमरुवल्लभ भण्डारी तथा शिवनारायण पण्डितको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सचिव रमेन्द्र कोइराला र उपाध्यक्ष राधा सुवेदीले संयुक्त रूपमा गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष यशोदा आचार्यले व्यक्त गरेकी थिइन्।
स्वर्णजयन्ती शृङ्खलामा वर्षा मण्डल, शुभेच्छा भट्टराई, झरना कार्की, मञ्जु भट्टराई, निर्जला देवकोटा, रीता थापा, किरण मेहता, प्रदीप कोइराला, द्वारिका पोखरेल, प्रकाश अनुराग, आँचल कार्की, शान्ति निरौला, दिव्य राय, मोक्षिका पोखरेल, योजना पोखरेल, रंगलाल भट्टराई, विष्णु दाहाल, अच्युत गौतम, शुष्मिता यादव, रोशनी यादव, कृष्ण तिम्सिना, सक्षम यादव तथा अपन स्वर्ग नेपालका अध्यक्ष झोटन मेहतालगायत करिब ५० जना सर्जक तथा साहित्यकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कविता, गजल, मुक्तक, लघुकथा, गीतलगायत विविध साहित्यिक सिर्जनाहरू प्रस्तुत गरिएका थिए। साथै प्रधानाध्यापक प्रदीप कोइरालाले प्रस्तुत गरेको रोचक खेलले सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो।
५०औँ स्वर्णजयन्ती शृङ्खलाको शुभारम्भ सहभागी तथा अतिथिहरूलाई खादा र मालाले सम्मान गर्दै गरिएको थियो। साहित्यिक सिर्जनाको निरन्तर प्रवर्द्धन र सर्जकहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।




















