विराटनगर । कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै आज पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार कोशीसहित वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। कोशीका केही स्थानमा आज र राति पुनः भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा वाग्मती–गण्डकीका तराई क्षेत्रमा तापक्रम वृद्धि हुन सक्ने जनाइएको छ। मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन महाशाखाले आग्रह गरेको छ।